February 21, 2012

SINGING A SONG FROM THE FORBIDDEN KINGDOM OF MUSTANG

[Below posted is a brief travelogue tonight published 11 years ago from Kathmandu. In August 2001,  I was on a two week mission with other two colleagues to Upper Mustang, a forbidden kingdom, a restricted  district of Nepal. Mustang  borders with China's autonomous Tibet in the north. The landscape was so different, I had never ever imagined such a place would exist on the earth ! In Ghami hospital guesthouse that night, I had difficulty in breathing while on the bed as there was short supply of oxygen in the atmosphere. Again while climbing up towards the famous Muktinath temple few days later and; as there was thin supply of oxygen in the atmosphere, I felt my  heart pound so heavily the way not experienced ever before. That was quite a different journey of Mustang district in the month of August 2001. We also heard people getting altitude-sick while landing on the Jomsom Airstrip (2800 M), way way down below the Muktinath Temple. This article is on that mission and was published in Kantipur Koseli on Bhadra 2, 2058  from Kathmandu. All images courtesy google. - The Blogger]


जोमसोमै बजारमा बाह्रबजे  हावा सरर
ए हजुर,    घर हाम्रो पोखरा !    
जोमसोमै बजारमा, बाह्रबजे  हावा सरर ,
लेखक  बि.  के .राना
Kagbeni on the bank of Kaligandaki. It takes 3 hours to reach Muktinath uphill from here.
हुन  पनि हो, जोमसोम बजारमा  दिउसो बाह्र बजेपछि  साँझ  करिब ७:३० बजे सम्म  सधै एकनास किसिमले  हावा चल्ने गर्दछ | तर त्यो हावा सरर नभई बेजोडले  चल्छ फरर, हाम्रो यतातिर चल्ने चैते हुरी जस्तै | कालीगण्डकीको  खोचमा अवस्थित जोमसोमदेखिमाथि लोमांगथांगसम्म त्यसै हावा चल्ने गर्दछ | जोमसोम र पोखरा बीच  साँस्कृतिक र ब्यापारिक  सम्बन्ध सयौं वर्षदेखि चल्दै आइरहेकाले  पनि हुँन  सक्छ प्रस्तुत गीतमा पोखराको सन्दर्भ ल्याइएको | प्रदुषण रहित  जोमसोमको झोलुंगे पूल र त्यसको पृष्ठभूमिमा छायांकन गरिएको  त्यो गीत जति मीठो  एबम्  लोकप्रिय छ  जोमसोम पोखराको  तुलनामा त्यति नै विरानो र उराठ लाग्दो  पनि छ |

पोखराबाट आरामले पैदल यात्रा गर्दा    चार दिनमा पुगिने जोमसोममा उडेर (हवाईयात्राबाट)   जाँदा बीस बाइस मिनेटैमा पुगिन्छ |तर त्यस निम्ति   मौसम सफा हुनुपर्छ  नत्र घन्टौसम्म चक्कर लगाउँदा  पनि जोमसोम हवाई ग्राऊण्डमा ओर्लन नसकी  हवाई जहाजहरु 'नियाउरो अनुहार' लिएर पोखरा फर्कन वाध्य हुन्छन | आधा-आधा घण्टामा परिवर्तन भै रहने मुस्तांगी मौसम प्रकृतिको अनौठो प्रस्तुति हो भन्न सकिन्छ |

जोमसोम   आधुनिक  नेपालीकृत नाम हो 'जोंगसांग'को | त्यहाका आदिवासीहरु जोमसोमलाई 'झुम्सा' पनि भन्ने गर्छन | छिटो बोलिंदा झुम्सा सुनिने  'जोंगसांग'को अर्थ 'नया किल्लाभन्ने हुन्छ | यो झुम्सा समुद्रको सतह देखि २७००  मिटरको उचाइमा कालीगण्डकी नदीको  दुबै किनारामा नांगा र ऊराठलाग्दा  बालुवाको विशाल थुप्रो जस्तो देखिने ठुला पहाडहरु बीच नीलगिरी हिमाल   पारीपट्टी अवस्थित  छ | विकट मुस्तांग जिल्लाको सदरमुकामलाई  नेपालीकरण अर्थात ' Nepalization - नेपलाइजेशन ' गरेर 'जोमसोम' बनाइदा झुम्साको मौलिक अर्थ त्यहाँ सधै चल्ने     बाह्रबजेको हुरीसंगै  हुर्रिएर, धुलिएर खैरा , राता, फुस्रा डाँडाको बगरमा त्यसै हराएझैं लाग्छ | त्यहा   खोलामामात्र नभई डाँडामा पनि बगर छ | त्यो ठाउँ अनौठो छ , छुट्टै छ | त्यो पाँचौ "हिमाल चुली उत्तर खुली ' बोलको अर्को मीठो गीत मुस्तांगलाई  मिल्दैन |

एकले भट्टी , कागबेनी , तांगबेतांग, छुसांगचेले, समर, स्याँमोचे, जैटे वा चरांगको उकालो  जहाबाट हेरे पनि चाँदीका 'हिमाल चुली दक्षिण खुली' मनलाई त्यसै लोभ्याई  रहेको हुन्छ | मुस्तांग  जिल्ला  तल्लो  र  उपल्लो  भएर विभाजित छ अर्थात सोह्र गाविसहरु  भएको यस जिल्लाको उपल्लो भेकमा घमी, चरांग, लोमांगथांग , सुर्खांग, छोनुप र छोसेरसमेत  गरि जम्मा ६ गाविसहरु छन्   भने तल्लो मुस्तांगमा बाकी दश  गाविसहरु पर्छन | उपल्लो मुस्तांग विदेशीहरुका निम्ति निषेधित क्षेत्र हो तर ट्रेक्किंग परमिट लिएर  त्यहा पैदल यात्रा गर्न भने नपाइने होइन |अघिल्लो जनगणनामा मुस्तांग जिल्लाको कूल जनसंख्या चानचुन १६ हजार रहेको थियो, अहिले अलिकति बढ्यो कि भन्ने जानिफकारहरुको अनुमान रहेको छ |

'झुम्सा'बाट कस्सिएर हिड्दा कम्तिमा पनि तीन दिनमा लोमांगथांग पुग्न सकिन्छ ल्होमांगथांगलाई     पर्खालले घेरिएको प्राचीन किल्ला पनि भनिन्छ  भने 'झुम्सा' नया किल्लाको रुपमा परिचित रहेको छ |पंचायत प्रणाली कायम रहदासम्म लोमांगथांगमा  विष्टहरुको खासा प्रभाव  रहेको थियो |तर अब त्यस्ती छैन | उपल्लो मुस्तान्गको सामाजिक   जीवन तिब्बती जनजीवनसंग     मिल्छ | यहाका राजघरानाहरु विष्ट कहलाइन्छन   |

You can have altitude sickness in this very street of Jomsom Bazar also. The
altitude of this cobbled street is 2700 + some meters from the sea level.
आर्थिक र सामाजिक हिसाबले विष्टहरु  पछि  ठकुरीहरु आउछन | त्यस पछि गुरुङहरु  पर्छन |   तर यी गुरुङहरु  'रोंग्बा  गुरुङ अर्थात तलतिरका गुरुङ जस्ता नभई भोटिया गुरुङ हौँ  भन्न  रुचाउछन् | उनीहरुको भाषा पनि अलि भिन्नै  छ | यताका गुरुङहरु पानीलाई 'क्यू ' भन्छन | माथितिरका गुरुङहरु 'छुभन्छन | यसमा यस्तै अरु थुप्रै शव्दावलीहरु छन् |   यी तीनै जातिका  समुदायहरुमा  दलितको संज्ञा दिइएको अर्को जाति पनि छ | त्यो दलित समुदायलाई 'आंगबा' भनिन्छ | सामाजिक रीतिथिति  सबै एउटै  भएपनि अरुहरुले  यी आन्ग्वाहरुलाई आफु समान मान्दैनन | त्यहाँ विष्ट  र ठकुरी  एबम 'आंगबा'हरु हिन्दूवादी नेपलाईजेशनको सामाजिक 'बाइ-प्रडक्ट'का रुपमा देखिन् आऊछन्  |स्वयं मुक्तिनाथलाई पनि नेपालीकरण गरिएको स्पष्ट देखिन्छ | त्यहाका वासिन्दाहरु प्रसिद्ध मुक्तिनाथलाई 'छेमे घेच' भन्छन | यसको अर्थ 'आगो र पानी'को  देवता  भन्ने हुन्छ | 'छु र मे'को संयुक्त रुप हो 'छे मे' अनि 'छु'को अर्थ पानी  र 'मे'को  अर्थ   आगो हुन्छ त्यहाँ बोलिने भाषामा | मुक्तिनाथ मन्दिरको परिसरमा रहेको ज्वालामाईको मन्दिरलाई  'सला म्हेम्बर' अर्थात माटोका देवता, 'छुला  म्हेम्बर '  - पानीका देवता वा 'घोला म्हेम्बर' - ढुंगाको देवता भनेर स्थानीयजनहरुले    पुज्ने गर्छन |ज्वालामाईलाई पनि नेपालीकरणको अर्को नमुना  मान्न सकिन्छ | मुक्तिनाथ र ज्वालामाईका अविवाहित  'आनी'हरु पुजारी भएबाट पनि सो कुरालाई पुष्टि गर्दछ |

उपल्लो   मुस्तान्गमा पढाउन जाने 'रोंग्बा' अर्थात तलतिरका शिक्षकहरुले विद्यार्थीहरुको स्थानीय नाम अप्ठ्यारो लागेर श्याम, प्रमोद, राजु आदि लेखाईदिने गरेकाले  पनि त्यहाँ 'नेपालीकरण'को  प्रकिया  तेज रफ्तारमा   अघि बढी रहेको बुझिन्छ |यसलाई समयमा नै रोकिएन भने उपल्लो मुस्तांगले आफ्नो विशिष्ट पहिचान गुमाउन पनि सक्छ |

'न्ग्यालु' र विवाहवारीका कुरा

Muktinath Temple 3,710 meters from the sea level
त्यस क्षेत्रमा विवाहवारीका कुरामा मागी विवाहलाई राम्रो मानिए पनि भगाई लैजाने प्रथा पनि कायमै छ  | माइतीमा बसेर बच्चा जन्माई बाबुको खोजी गर्ने प्रचलन घिलिंग र धाकमर गाउँतिर अझै पनि कायमै रहेको पाइन्छ |बाबु पत्ता नलागेको बच्चालाई  'न्ग्यालु' अर्थात् सरकारी बच्चा पनि भनिन्छ | फांगी र ल्होसार जस्ता चाडपर्वमा एउटी युवतीले दर्जनौ युवकसंग यौन सम्बन्ध राख्दा गर्भ बसेर जन्मिएको बच्चाको बाबु पत्ता लगाउने क्रममा अलि र्ह्ष्टपुष्ट  सुन्दर केटा लाई देखाइएमा र त्यो केटाले अस्विकार गरेमा  गोलाप्रथाबाट बाबु पत्ता लगाइने प्रचलन पनि त्यहाँ छ |न्ग्यालुलाई बाबु पत्ता नलागेमा कुनै अंशपात   प्राप्त नहुने भए पनि सामाजिक सम्मान भने प्राप्त भएकै हुन्छ | यौनलाई मनोरंजन मात्र मान्ने उपल्लो मुस्तांगी समाजमा माया र प्रेमपूर्ण  जीवनको सुन्दर पक्षहरुको ज्ञानको नितान्त अभाव देखिन्छ |  

त्यहातिर  उमेर पुगेका मानिसको मृत्यू भएमा लामाले जोखाना हेरेपछि जलाउने, मसिना टुक्रा हुने गरी काटेर  चिल-गिद्धलाई  खुवाउने  वा नदीमा बगाउने भन्ने निधो गर्छन |यसै अनुसार टन्टलापुर  घाममा छ्यांग अर्थात जाडको डबका तान्दै लासलाई काट्दै  चिल-गिद्धलाई  बोलाइ खुवाउने अत्यन्त अनौठो लाग्छ | तर स-साना  बालबालिकाको म्र्त्यु भएमा उसको आमाको गर्भमा अर्को बच्चा नआएसम्म कुनै उपयुक्त भाडोमा हालेर घरको छतमाथि राख्ने प्रचलन  आज पनि कायमै रहेको छ

मुस्तांग रुखपात नभएको उजाड मरुभूमि हो | त्यहाका वासिन्दाहरु आफ्ना घरमाथि सयौं वर्षदेखि दाउराको खलियो लगाएर राख्छन | एउटा घरमा पांच पुस्तासम्मको दाउरा भएको पनि भेटिन्छ | घरमाथि दाउरा हुनु सम्पन्नताको सूचक भएकाले  सबै मुस्तांगीहरु   दाउराको थुप्रो लगाउन ईच्छुक  हुन्छन  र बन सखाप पार्ने काम गर्छन उनीहरु | याम्दोको एक गुरुङ महिलालाई पानी पारेको मन पर्दैन  किनभने उनको त्यो माइतीघर माथि पातलो पोथ्रापोथ्रीको वन  छ र त्यहा अलि-अलि पानी पर्छ | वन तथा भू-संरक्षण  कार्यालय  नभएको  मुस्तांग जिल्लामा वृक्षारोपण  वा वन संरक्षणको कामकुरो जनतालाई कसले सिकाउने ? जे भए पनि मुस्तांग पाँचौ विश्व हो , अत्यन्तै अनौठो  र रोचक ठाउं |जिन्दगीमा एकै पटकमात्र भए पनि नघुमी नहुने ठाउं हो  - हिमालपारिको  मुस्तांग  - भलै एउटा कोकाकोलाको ५० रुपैयाँ नै किन नपरोस |




@ कान्तिपुर  कोसेली , भदौ २, २०५८